काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
ठगी, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसूर तथा लिखत कीर्तेसम्बन्धी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले शुक्रवार यस्तो आदेश दिएको हो । दुईजना भने धरौटीमा रिहा भएका छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ र फरार रहेका १२ गरी ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा झण्डै २ साता (जेठ २१) देखि निरन्तर चलेको बहस शुक्रवार सकिएपछि थुनछेक आदेश आएको हो ।






