पत्रकार महासंघ झापाको कार्यालयमा प्रेस चौतारीले गाड्यो कालो झण्डा


१ असार २०८०, शुक्रबार १७:०८ मा प्रकाशित

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय कालो झण्डा गाडेको छ ।

नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धीकरण मापदण्ड विपरित तथा राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापाले विरोध गर्दै आन्दोलनका कार्यक्रमको दोस्रो दिन शुक्रबार महासंघको कार्यालयमा कालो झण्डा गाडेको हो ।

प्रेस चौतारीको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्टले सदस्यता शुद्धीकरणका नाममा पत्रकार महासंघ झापा शाखाले मापदण्ड मिचेर नाम सिफारिस गरेकोप्रति आपत्ति प्रकट गर्दै त्यस्को गम्भीर परिणाम भोग्न तयार रहन महासंघ झापाको नेतृत्वलाई चेतावनी दिनुभएको छ ।

आइतबारसम्ममा पनि सदस्यता शुद्धीकरणमा गरिएको पूर्वीग्रही सिफारिस नसच्याए आन्दोलन अझै कडा बनाउने बिष्टले चेतावनी दिनुभएको हो । बिहीबारदेखि प्रेस चौतारी झापाले पत्रकार महासंघ झापा शाखाको कार्यालयमा कालो झण्डासहित धर्ना कार्यक्रम जारी राखेको छ ।

सोही धर्ना कार्यक्रममा शुक्रबार ऐक्यवद्धता जनाउँदै अन्य जिल्लामा शुद्धीकरण अभियान सहज हुने तर झापामा किन पूर्वाग्रही भन्दै प्रेस चौतारीका प्रदेश अध्यक्ष बिष्टले प्रश्न गर्नुभयो ।

प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियारले शुद्धीकरणको नामवली सच्याउन अझै दुई दिनको समय दिइएको बताउनुभयो । शुद्धीकरण अभियानमा आफ्नो संगठनको कुनै आपत्ति नरहेको तर पूर्वाग्रही ढंगले गरिएको सिफारिस प्रेस चौतारीलाई कुनै हालतमा मान्य नहुने उहाँले बताउनुभयो ।

सदस्यता शुद्धीकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यस विरुद्ध आन्दोलनमा नै उत्रनु परेको प्रेस चौतारी झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here