काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।
आयोगको ७३ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको भन्दै थप प्रभावकारीका साथ काम कारवाहीलाई अघि बढाउन आग्रह गर्नुभएको हो ।
उहाँले जनतालाई सहज र सुलभरुपमा सेवा दिनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशा र भरोषाका रुपमा काम गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
उपराष्ट्रपति यादवले गलत भर्ना र छनौटका कारण प्रशासनिक क्षेत्रभित्र खरावी प्रवेश गर्न सक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहन गर्न परिक्षणका बिधिलाई समयसापेक्ष परिमार्जन गदै लैजानुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन प्रणालीगत विकास गरिएको जानकारी दिनुभयो ।






