काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कार्कीसंग प्रश्नोत्तर गरेपछि प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिनुभयो ।
त्यसअघि बैठकमा समिति सदस्यहरुले न्यायालयप्रतिको भरोसा र विश्वासलाई अघि बढाउनका आगामी दिनमा हुने योजनाका बारेमा प्रश्न गरेका थिए । समिति सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले न्यायलयमाथि जनताको विश्वास अभिबृद्धि गर्न र छिटो न्याय दिनका लागि कस्तो भूमिका निर्वाह गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै समिति सदस्य डोलप्रसाद अर्यालले न्यायपालिकामा नियुक्तबाटै भ्रष्टाचार सुरु हुन्छ भन्ने बिषयमा कार्कीले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
सांसदहरुको प्रश्नको जवाफ दिदै कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर न्यायपालिकाले काम गरिररहेको बताउनुभयो ।
उहाँले कानुन र प्रमाणका आधारमा न्याय निरुपण हुने भन्दै न्यायाधीश घटनाको साक्षी बन्न नसक्ने जिकिर गर्नुभयो । उहाँले न्यायपरिद्मा स्थायी ढंगले नियुक्ति गरेको खण्डमा समयमा नै न्यायलयमा न्यायधिश सिफारिस गर्न सकिने धारणा राख्नुभयो । जुडिसियल एकेडेमीलाई थप व्यवसायीक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस हुनुभएको थियो ।






