काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसदमा रहेका सवैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमत्ति रहेको बताउनुभएको हो ।
उहाँले नागरिकता बिधेयकमा बोरमा रास्वपा कुनै समूदायको विरोधमा छ भनेर जनतालाई गुमराहमा राख्न खोजिएको जिकिर गर्नुभयो । आफूलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा रहेको भन्दै उहाँले जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकारको सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
उहाँले एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस पुग्न सक्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले सरकारले ल्याएको बजेटको कार्यक्रमबीच तालमेल भेट्न नसकेको बताउनुभयो । जनतासंग भोट माग्दा शिक्षा, स्वास्थ्य लगाएतका बिषयमा प्रतिवद्धता जनाएकाले यस बिषयमा आवश्यक नीति बनाउदा सवै दलहरु एकठाँउ आउनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले नयाँ पुस्ताका राजनीतिज्ञहरुलाई पुरानो पुस्ताका नेताहरुले सिक्ने अवसर प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।






