कोशी प्रदेशः निषेधाज्ञा लगाएर आजदेखि बजेट अधिवेशन


१४ जेष्ठ २०८०, आईतवार ०७:११ मा प्रकाशित

विराटनगर । प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएर आइतबार प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ हुँदैछ । प्रदेशको नामकरणपछि उठेको आन्दोलन दबाउन र प्रदर्शन गर्न नदिन विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा लगाउँदै प्रदेशसभा बैठक सुरु हुँदैछ ।

प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दुई बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले पनि आइतबारदेखि विराटनगर केन्द्रित आन्दोलन थाल्ने घोषणा गरेपछि राजधानी विराटनगरमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ । कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलस, धर्ना, भेलालगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।’

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।

आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ । आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ । पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथल्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।पहिचानवादीहरूको तेस्रो चरणको आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here