पाँचथरको तुम्बेवामा बहुसांस्कृतिक संगोष्टी कार्यक्रम सम्पन्न


२० बैशाख २०८०, बुधबार १८:३६ मा प्रकाशित

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा बहुसांस्कृतिक संगोष्टी कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको सदरमुकाम मौवा बजारको खेलमैदानमा वैशाख १६ र १७ गते भएको कार्यक्रममा बिभिन्न जातजाती झल्किने नृत्य, झाँकी प्रस्तुत भएका थिए ।

दुई दिने कार्यक्रममा लोक नृत्यहरू, झाँक्रीनाच, साकेला नृत्य सिली, बालन नृत्य, मुर्चुङ्गा, बिनायो, च्याभ्रुङ नाच, सारङ्गी र मादल धून, नाकले मुरली बजाउने, धाननाच, सँगिनी, तामाङ सेलो लगायत कविता प्रतियोगिता समेत भएको थियो । उक्त प्रतियोगितामा कुमार राई प्रथम, कमल अधिकारी द्वितिय र राधिका भट्टराईले तृतीय स्थान हासिँल गर्नुभएको थियो ।

मौलिक कला संस्कृति र प्रवद्र्धनमा टेवा पुर्याउने उद्येश्यले कोर्काली अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रम वास्तवमै मौलिकता झल्कने प्रकृतिको भएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

सांस्कृतिक कार्यक्रममा बाँस र सेउलाको मञ्च बनाइएको थियो । अतिथिहरूका लागि आसनका रुपमा गुन्द्री, गजरा र सेउला बिछ्याएर व्यवस्थापन गरिएको थियो ।

अतिथिहरूले पलेटी कसेर आसन ग्रहण गरेको र मञ्चमा पुराना परमपरागत घरायसी सामग्रीहरूको प्रर्दशनीले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुका लागि खाजाको रुपमा स्थानीय परिकार मकै, भटमास, उसिनेको आलु, गुन्द्रुकको अचारलाई टपरामा वितरण गरिनुले कार्यक्रको औतित्यलाई अझ प्रष्ट्याएको थियो ।

कार्यक्रममा जनगायक जीवन शर्मा लगायत स्थानीय दर्जनौँ कलाकारहरुको प्रस्तुती रहेको थियो । कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन तिम्सिना कोर्कालीको अध्यक्षतामा आयोजित कार्यक्रममा  पालिका अध्यक्ष बाबुराम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here