Saturday, 14 November 2026
Suryodaya Online
२८ कात्तिक २०८३, शनिबार
विज्ञापन

दर्शकको माग र विद्यालयहरूको अग्रिम बुकिङपछि झापा नाटक घरमा ‘बसाइँ’ नाटकको सिजन–२ मंसिर ७ देखि

Dev Baskota

बिर्तामोड । दर्शकको उत्साहजनक सहभागिता र विभिन्न विद्यालयहरूको अग्रिम बुकिङपछि झापा नाटक घरमा चर्चित नाटक ‘बसाइँ’ पुनः मञ्चन हुने भएको छ। क्षितिज नाट्य प्रतिष्ठान नेपालको आयोजनामा आगामी मंसिर ७ गतेदेखि १६ गतेसम्म नाटकको दोस्रो चरण अर्थात् सिजन–२ मञ्चन गर्न लागिएको हो।

बहुजातीय सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणमा सहयोग जुटाउने उद्देश्यले मञ्चन गरिएको नाटक ‘बसाइँ’ पहिलो चरणमा गत कात्तिक १४ गतेदेखि २१ गतेसम्म प्रदर्शन गरिएको थियो। वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीद्वारा लिखित चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित नाटकले दर्शकको उल्लेखनीय साथ पाएपछि पुनः मञ्चन गर्न लागिएको हो।

क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा नाटकका निर्माण परिकल्पनाकार माधव कल्पितले दर्शकको माग, विद्यार्थीहरूको चासो र विभिन्न विद्यालयहरूको अग्रिम बुकिङका कारण दोस्रो चरणको मञ्चन गर्न लागिएको जानकारी दिनुभयो। उहाँका अनुसार नाटकमार्फत झापा नाटक घर निर्माण तथा बहुजातीय सांस्कृतिक संग्रहालय स्थापनाको अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका महासचिव गजेन्द्र खतिवडा ‘पृथक’ को नाट्य रूपान्तरण तथा निर्देशन र सचिव राजकुमार भट्टराईको व्यवस्थापनमा तयार भएको नाटकमा पूर्णिमा विश्वकर्मा, राकेश दर्नाल, पारस तामाङ, विवेक मिश्र, प्रज्वल भट्टराई, दिलकुमार लिम्बू, बालकलाकार आशुतोष भट्टराई, दीपा शिवाकोटी, आर्जु पौड्याल, राजकुमार भट्टराई र सीताराम भट्टराईलगायत कलाकारहरूको जीवन्त अभिनय रहेको छ।

६६ जिल्लाका दर्शकहरूको उपस्थितिमा उद्घाटन गरिएको नाटक ‘बसाइँ’ ले नेपाली समाजमा विद्यमान गरिबी, अभाव, शोषण, विस्थापन र बाध्यतापूर्ण बसाइँसराइको पीडालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। नाटकले दर्शकको मन छुने र भावविह्वल बनाउने सामर्थ्य राखेको प्रतिष्ठानका साहित्य विभाग अध्यक्ष तुलसीप्रसाद भट्टराईले बताउनुभयो।

नाटक अवलोकनका लागि सर्वसाधारणलाई २०० रुपैयाँ र विद्यार्थीलाई १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। हालसम्म १५ वटा विद्यालयले नाटक अवलोकनका लागि अग्रिम बुकिङ गरिसकेको अध्यक्ष कल्पितले जानकारी दिनुभयो।

झापा नाटक घरलाई पूर्णता दिने तथा बहुजातीय सांस्कृतिक संग्रहालय निर्माण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको यो अभियानमा ‘बसाइँ’ नाटक मनोरञ्जनको माध्यममा मात्र सीमित नभई कला, साहित्य, संस्कृति र सामाजिक रूपान्तरणको साझा अभियानका रूपमा समेत अघि बढेको छ।

मञ्चन अवधि: मंसिर ७ देखि १६ गतेसम्म
स्थान: झापा नाटक घर, झापा
टिकट दर: सर्वसाधारण २०० रुपैयाँ, विद्यार्थी १०० रुपैयाँ

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private