काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको सन् २०२६ को ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्।
नेपालमा जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम, त्यसबाट भएको क्षति र जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै आएको भन्दै टाइमले वाग्लेलाई सूचीमा समावेश गरेको जनाएको छ।
गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान रहेको नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए। जलवायुजन्य विपद्बाट भएको क्षतिको उचित क्षतिपूर्ति पाउनुपर्ने नेपालको मागलाई उनले अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्दै आएका छन्।
नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको क्षतिपूर्तिका लागि चीन, अमेरिका र भारतसँग कूटनीतिक पहलसमेत गरेको थियो। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त र नोक्सानी तथा क्षति कोष परिचालनमा जोड दिँदै आएका छन्।
टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालका लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो।
वाग्लेको नाम विश्वका प्रभावशाली जलवायु नेताको सूचीमा समावेश हुनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दाले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको घटनाका रूपमा हेरिएको छ।
यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत व्यक्तित्व पनि समेटिएका छन्।