इण्डियन प्रिमियर लिगः कोलकाता नाइट राइडर्स (केकेआर) ले पहिलो जित निकाल्यो


२४ चैत्र २०७९, शुक्रबार ०७:४० मा प्रकाशित

काठमाडौं । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले पहिलो जित निकालेको छ ।

पहिलो जित निकाल्नेक्रममा केकेआरले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ८१ रनले हरायो । पहिलो खेलमा ऊ पञ्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो ।

पहिलो खेलमा मुम्बई इण्डियन्सविरुद्ध ८ विकेटको जित निकालेको बैंग्लोरले दोस्रो म्याचमा भने खराब प्रदर्शन गर्‍यो । कोलकाताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७.४ ओभरमा १२३ रनमै अलआउट भयो ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले २३, विराट कोहलीले २१, डेविड विलीले अविजित २०, माइकल ब्रेसवेलले १९ र आकाश दीपले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बैंग्लोरलाई सस्तैमा समेट्नेक्रममा कोलकाताका वरुण चक्रवर्तीले ३.४ ओभरमा १५ रन मात्र खर्चदै ४ विकेट लिए । त्यस्तै, सुयश शर्माले ४ ओभरमा ३० रन दिएर ३ विकेट हात पारे । सुनिल नारायणले ४ ओभरमा १६ रन मात्र दिएर महत्वपूर्ण २ ब्याटरलाई आउट गरे । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो ।

त्यसअघि इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि शार्दुल ठाकुर, रहमानउल्लाह गुर्बाज र रिंकु सिंहले उत्कृष्ट पारी खेले । २९ बलको सामना गरेका ठाकुरले ९ चौका र ३ छक्कासहित ५८ रन बनाए । 

उनले २० बलमै अर्धशतक बनाएका थिए । योसँगै शार्दुल जारी सिजनमा छिटो अर्धशतक बनाउने ब्याटर बने । त्यस्तै, गुर्बाजले ४४ बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको इनिङ खेले ।

रिंकुले ३३ बलमा ३ छक्का र २ छक्कासहित ४६ रनको योगदान दिए । वैंकटेश अय्यर (३), मन्दीप सिंह (शून्य), कप्तान नितिश राणा (एक) र आन्द्रे रसेल (शून्य) ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बैंग्लोरका लागि डेविड विली, कर्ण शर्मा, हर्षल पटेल, मोहम्मद सिराज, माकइल ब्रेसवेलले एक/एक विकेट लिए । यो जितसँगै कोलकाता २ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । २ अंक नै जोडेको बैंग्लोर सातौँ स्थानमा खस्किएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here