काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो ।
प्रधानमन्त्री सचिवालयले बालुवाटारमा जारी बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको जनाएको छ ।
जारी बैठकमा नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । आजको बैठकले कार्यदलले बनाएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ ।
गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै छ । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने र भोलि शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सरकारको तयारी छ । मन्त्रिपरिषदले पूर्णता पाएपछि सरकार विकासका काममा केन्द्रित हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ।
गत मंगलबार बसेको गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।






