काठमाडौँ । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद्को विस्तार दुई चरणमा हुने देखिएको छ । गठबन्धनका दलहरुले आफ्नो अडान नछोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार दुई चरणमा गर्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा दलहरुबीच सहमति नबन्दा मन्त्रिपरिषद् विस्तार दुई चरणमा हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
उहाँका अनुसार गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन टुंगिएकोले आजै दिउँसो ३ बजे पुन: बैठक बस्नेछ ।
लेखकले भोलि बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । उहाँले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गर्नुभयो । उहाँले आज मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको बताउनुभयो ।