नागढुङ्गा सुरुङमार्ग बनाउन १५ अर्बमा सम्झौता हुँदै


१९ असार २०७६, बिहीबार १३:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौंको नागढुङ्गा देखि धादिङको सिस्ने खोलासम्म सुरुङ मार्ग निर्माणका लागी १५ अर्बमा सम्झौता हुने भएको छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अन्तिम स्वीकृति आएपछि सम्झौता गर्ने सडक विभागको तयारी रहेको छ । ‘हामीले आफ्नो तर्फबाट मूल्यङकन गरेर जाइका स्वीकृतिको लागि जापान पठाएका छौ,’ सडक विभागका सुचना अधिकारी अर्जन सुवालले भने, ‘उनीहरुले तेस्रोपाटीसँगको छलफल गरेर स्वीकृतिको लागि अन्तिम पत्र पठाउछन् ।’ उनले जाइकाको अन्तिम स्वीकृति आएपछि ठेक्का सम्झौताको काम अघि बढाउने बताए । ‘अर्को हप्तासम्म जाइकाको मूल्याङकन स्वीकृतिसहितको पत्र आउने विश्वास छ,’ उनले भने ।

सुरुङमार्ग आयोजना प्रमुख श्याम प्रसाद खरेल चालु आर्थिक वर्षमानै ठेक्का सम्झौता हुनेमा विस्वस्त रहेको बताउछन् । ‘अर्को हप्ता सम्ममा जाइकाको स्वीकृति आयो भने तुरुन्तै ठेक्का सम्झौता हुन्छ,’ खरेलले भने, ‘यही वर्ष सम्झैता भएन भने साउन पहिलो हप्ता ठेक्का सम्झौता हुन्छ ।’ उनले १५ अर्बको हाराहारीमा ठेक्का सम्झौता हुने सक्ने बताए । ‘अन्तिम लागत भने ठेक्का सम्झौता पछि मात्रै थाहाँ हुन्छ,’ खरेलले भने । ठेक्का सम्झौता भएको ४२ महिनामा काम सक्ने गरि तयारी भएको उनले प्रस्ट पारे ।

मुअब्जाका बितरणमा स्थानीयको अबरोध

सुरुङमार्ग निमार्ण स्थलको मुअब्जा वितरणमा पनि समस्या देखिएको छ । सुरुङ मार्गको पश्चिमी भागतर्फ धादिङको सिस्नेखोलाका स्थानीयले मुअब्जा वितरणमा अबरोध गरेका हुन् । ‘काठमाडौंको मूल्य मागेपछि मुअब्जा वितरणको काम रोकिएको छ,’ आयोजना प्रमुख खरेलले भने, ‘हामीले प्रचलित मूल्य भन्दा निकै बढी दिएका छौ तर उहाँहरु काठमाडौंकै मूल्य माग्नुहुन्छ ।’

अहिले विभागले काठमाडौंमा बाटो नपुगेको जग्गालाई प्रतिआना ९ लाख दिएको छ र धादिङमा भने प्रतिआना ७ लाख प्रस्ताव गरेको थियो । ‘मुअब्जा सम्झौताको लागि गाउँपालिकाको अध्यक्ष चाहिन्छ तर उहाँ छलफलमा आउन सक्नुभएको छैन, त्यसैले मुअब्जा वितरण रोकिएको छ, ’ उनले भने ।

यता काठमाडौं तर्फको मुअब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । ‘बैंकमा भएको जग्गा र समस्यामा रहेको जग्गा बाहेक सबैलाई मुअब्जा दिइसक्यौ,’ खरेलले भने ।

घर हटाउनु पर्नेलाई पनि ५० प्रतिशत दिइसकेको उनले प्रस्ट पारे । घर भत्काउनु पर्ने ठाउँमा घर भत्काउनु पुर्व ५० प्रतिशत र घर भत्याएको जानकारी गरेपछि ५० प्रतिशत मुअब्जा दिने खरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here