काठमाडौं । मनाङ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद् ‘दिपक मनाङ्गे’ भनिने राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
मनाङ्गेसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । उनीहरुलाई आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टी प्रवेश गराएका हुन । उनलाई मुख्यमन्त्री गुरुङले टीका लगाइदिँगै नेकपाको विधान दिएर पार्टी भित्र्याएका हुन ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङ्गेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए । यससँगै प्रदेशसभामा नेकपाको प्रतिनिधित्व संख्या ४० पुगेको छ ।





