प्रचण्डविरूद्धको रिटमा भोलि सुनुवाइ हुने


२५ फाल्गुन २०७९, बिहीबार १५:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुविरूद्धको रिटमा भोलि सुनुवाइ हुने भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिटको पेशी तोकिएको थियो ।

बिहिबार हेर्न नभ्याइने भएपछि रिट शुक्रबारका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनु भयो ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गराउनु भएको थियो ।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन्।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिनु भएको थियो ।

प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो ।

त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए ।

गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो ।

अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए ।

त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए। प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले विरोध जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here