झापा । सत्ता गठन्धनमा रहेका दलहरुले राष्ट्रपति निर्वाचनका सम्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिने भएका छन् । यसका लागि मतदानमा सहभागी हुने सदस्यहरुलाई बुधबार ११ बजेसम्म काठमाडौं आउन भनिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यसपटक यसअघि भन्दा फरक ढंगले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिनुभयो ।
निर्वाचनसंग जोडिएका बिषयसंग सम्बन्धीत बिषयमा छलफल भएको र आवश्यक तयारी गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाले देशभरबाट आएका मतदाताहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भएपनि निर्वाचन आचारसंहिता लागू भएकाले सो कार्यक्रम स्थगीत भएको जानकारी दिनुभयो ।
त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनका सम्बन्धमा गर्नुपर्ने सवै कामलाई व्यवस्थीत गर्न सम्बन्धीत दलले तयारी गर्ने निर्णय भएको बताउनुभयो । उहाँले निर्वाचनमा कुनै समस्या नरहेको र आफ्ना पक्षमा धेरै मत खस्ने दावी गर्नुभयो ।
राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेद्वार बन्नुभएको छ । राष्ट्रपति निर्वाचन फाल्गुन २५ गते बिहीबार काठमाडौंमा हुँदैछ ।






