पौडेललाई राष्ट्रपतिमा जिताउन ८ दलीय गठबन्धनले बनायो कार्यदल


१५ फाल्गुन २०७९, सोमबार ०७:०७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेका आठ दलीय गठबन्धनले कार्यदल गठन गरेको छ ।

प्रत्येक दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम संचालन र व्यवस्थापन गर्ने समझदारी भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार साँझ बालुवाटारमा आठ दलको बैठक बसेको थियो । आठ दलीय गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका हुन् ।

जसपा नेता श्रेष्ठका अनुसार राष्ट्रपति निर्वाचनमा मिलेर अगाडि बढ्ने सन्दर्भमा निर्वाचन प्रचार कार्यक्रम कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केही समझदारी भएको थियो ।

आइतबारको बैठकमा भएका विषयलाई आफ्ना दलका सांसदसम्म पुर्‍याउनका लागि सबै दलहरूले यसबीचमा संसदीय दलको बैठक राख्ने र छलफल गर्ने समझदारी भएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचनका लागि समीकरण बन्नुमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीता तथा संविधानको रक्षालाई आधार मान्ने विषयमा पनि दलहरू एकमत रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here