काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरुले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गर्नुभएको हो ।
अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरुको रहेपनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भईरहे प्रतिवादमा उत्रने चेतावनी समेत दिनुभयो ।
अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रुपमा आफनो पार्टीलाई लिएको दाबी समेत गर्नुभयो । अध्यक्ष घिसिङले सरकारले विद्युतमा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्न चाहेको पनि बताउनु भयो ।






