एमालेलाई एकीकृत समाजवादीको जवाफः राष्ट्रपति निर्वाचनमा नेम्बाङलाई सहयोग गर्न सक्दैनौं


१४ फाल्गुन २०७९, आईतवार ०७:३० मा प्रकाशित

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा सहयोगको माग गर्दै पत्र पठाउने नेकपा (एमाले) लाई नेकपा (एकीकृत समाजवादी) ले सहयोग गर्न नसकिने जवाफ दिएको छ ।

अवस्था धेरै अगाडि बढिसकेकाले राष्ट्रपतिको निर्वाचन सहयोग गर्न नसकिने तर, भावी दिनमा सहकार्य भने गर्न सकिने जवाफ एकीकृत समाजवादीको छ ।

एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो, ‘पत्रले औपचारिकरूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।’

यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै लेखेको पत्रमा राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न भनिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचनमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here