त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश


१३ फाल्गुन २०७९, शनिबार १८:३० मा प्रकाशित


झापा । विभागीय टोली त्रिभुवन आर्मी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मेची रंगशालामा शनिबार भएको खेलमा अर्को ए डिभिजन टोली संकटा क्लबलाई पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।
निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो । थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १–० ले पराजित गरेको थियो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गरे ।

सन्तोष केसीको फ्रि–किकलाई उनले जाली चुमाए । जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरु गुमाएका थिए । खेलको ८८ औँ मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गोल गरे । गोल भएपछि खेलाडीहरु खुसी मनाउन थाले ।
तर, अफसाइडका कारण गोल दिइएन । त्यही बेला संकटाका मनिष डाँगीले बललाई अगाडि बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो । शनिबारको खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।

पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here