राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिका लागि छलफल चलाउने नेकपा एसको निर्णय


१० फाल्गुन २०७९, बुधबार १६:०८ मा प्रकाशित

झापा । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति गर्नका लागि छलफल चलाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति कायम गर्नका संसदमा भएका सवै दलहरुसंग छलफल र परामर्श गर्ने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा कुनै पार्टीले कुनै प्रस्ताव नै नगरेको र भोली कसैले प्रस्ताव गरे आवश्यक धारणा बनाउने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

उहाले सकेसम्म आमसहमति, सर्वसम्मतीमा निर्विरोध राष्ट्रपति चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको धारणा राख्नुभयो । उहाले राष्ट्रपति उम्मेदवारहरु राजनीतिक दलहरुबाटै हुनुपर्ने र दलभित्रबाट सहमति खोज्ने क्रममा समाजवादी पनि एउटा पक्ष भएको जिकिर गर्नुभयो ।

त्यस्तै सचिवालय बैठकले अहिले बिभिन्न पक्षबाट संविधान र व्यवस्थालाई समाप्त पार्न बिभिन्न गतिविधिहरु भइरहेको र यसप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै प्रतिगामी षड्यन्त्र चिर्न लोकतन्त्रवादीहरूलाई एक ठाउँमा उभ्याउन सुरुआत गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

बैठकपछि एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफ्नो पार्टीको कोही पनि नेतालाई राष्ट्रपतिको प्रस्ताव नभएको र बाहिर आएको हल्लामा सत्यता नरहेको बताउनुभयो । राष्ट्रपतिको निर्वाचन अहिले महत्वपूर्ण एजेन्डा भएकाले यसमा समाजवादीको पनि सरोकार हुने उहाको भनाइ छ । खनालले राष्ट्रपतिका सन्दर्भमा सवैसम्म छलफल गर्ने र आवश्यक परे उचित अडानका साथ अघि बढ्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here