काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।
आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै उहाँले पार्टीलाई सफलताको मार्गमा डोहो¥याएर मात्र विधिसम्मत ढंगले विश्राम लिने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो ।
विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र जनताको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्कने बताउनु भयो । आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै ओलीले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनु भयो ।
उहाँले कतिपयले आफ्नो मृत्युको समेत कामना गरेको उल्लेख गर्दै अहिले आफू दृढ संकल्पका साथ देश र आन्दोलनको रक्षाका लागि उभिएको बताउनु भयो । उहाँले पार्टीलाई बलियो बनाएर विधि र प्रक्रियाअनुसार आफू विश्राम गर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने पनि बताउनु भयो ।






