काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधिसभामा दिएको नेपालभारत सीमासम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैरजिम्मेवार भएको बताउनुभएको छ ।
बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले नेपालले प्रधानमन्त्रीले दिएको नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्तिले नेपालको छवि धुमिल भएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका अन्य राष्ट्रहरुसँगको नेपालको कुटनीतिमा समेत असर पार्ने बताउनु भयो ।
उहाँले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा छिमेकी राष्ट्रसँगको संवेदनशील सम्बन्धसँग जोडिएका विषयमा सरकार प्रमुखका अभिव्यक्ति तथ्यमा आधारित, स्पष्ट र जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो । सांसद थापाले प्रधानमन्त्रीसँग आफ्नो भनाइ पुष्टि गर्ने ठोस प्रमाण भएमा संसद र जनतासमक्ष सार्वजनिक गर्न आग्रह गर्नुपर्ने अन्यथा राष्ट्रसँग क्षमायाचना गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय हितसँग सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने छुट कसैलाई नरहेको उहाँको भनाई छ ।
उहाँले नेपाल–भारत सीमा तथा भू–राजनीतिक विषयमा तेस्रो मुलुकको भूमिका वा धारणा जोड्ने प्रयास पनि चिन्ताजनक भएको बताउनु भयो । नेपालको सीमा, सार्वभौमसत्ता र राष्ट्रिय हितसँग सम्बन्धित विषयहरू नेपाल र भारतबीचको संवाद तथा स्थापित कुटनीतिक संयन्त्रमार्फत समाधान हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्ता संवेदनशील विषयमा तेस्रो पक्षलाई अनावश्यक रूपमा प्रवेश गराउनु नेपालको हितमा नरहेको उहाँको भनाई छ । यस्ता गतिविधिले नेपाल–भारत सम्बन्धमा अनावश्यक अविश्वास, भ्रम र तनाव उत्पन्न हुन सक्ने चेतावनी दिँदै उहाँले नेपाललाई कुनै पनि प्रकारको कूटनीतिक टकराव वा गतिरोधबाट लाभ नहुने बताउनुभयो ।
उहाँले सरकारले संवेदनशील, संयमित, स्पष्ट र जिम्मेवार कूटनीतिक दृष्टिकोण अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री साहले लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादमा ईङ्ल्याण्ड (यूके)सँग पनि छलफल भइरहेको अभिव्यक्ति दिनुभएको थियो ।
सांसद थापाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरणले झन् धेरै प्रश्न खडा गरेको पनि बताउनु भयो । मन्त्रालयले प्रधानमन्त्रीको भनाइ सुस्ता क्षेत्रको ‘क्रस होल्डिङ’ तथा सीमा सम्बन्धी जटिल अवस्थासँग सम्बन्धित रहेको उल्लेख गरेको थियो ।
सांसद थापाले ‘क्रस बोर्डर अकुपेसन’लाई एउटा राष्ट्रले अर्को राष्ट्रको भूमि अतिक्रमण गरेको भन्न नमिल्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिको कारण संसद अवरोध भएको उल्लेख गर्दै संसद चलाउन भुमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल






