सञ्चारमन्त्रीको प्रश्न–विज्ञापनको लागि मात्रै स्थापना भएको सञ्चारमाध्यमले देशलाई के फाइदा पुर्‍याएको छ ?


२० जेष्ठ २०८३, बुधबार १७:०४ मा प्रकाशित

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनमा कडाई गर्नुपर्ने बताउनुभएको छ । 


बुधवार मन्त्रालयमा आयोजित मन्त्रालय अन्तर्गतको विषयगत समितको बैठकमा उहाँले जनताको करबाट संकलित रकमको दुरुपयोग हुन नहुने बताउनुभएको हो । उहाँले विज्ञापन र अनुदान प्राप्त गर्ने उद्देश्यले मात्र अधिकांश सञ्चारमाध्यमहरु संचालनमा रहेको बताउनु भयो ।

उहाँले सञ्चारमाध्यमहरुको प्रभावकारिता, रोजगारी सिर्जना तथा सार्वजनिक हितमा योगदानको पनि समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । लोककल्याणकारी विज्ञापनले वास्तवमै जनताको हित गरिरहेको छ वा छैन भन्ने विषयमा अध्ययन गरी स्पष्ट मापदण्ड तय गर्नुपर्ने उहाँको भनाई छ ।

राज्यबाट सहयोग प्राप्त गर्ने सञ्चार संस्था तथा अन्य निकायले देश र जनताका लागि गरेको योगदानको मूल्याङ्कन हुनुपर्ने उहाँले बताउनु भयो । मन्त्री तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहबाट एउटै संस्थाले दोहोरो–तेहरो सुविधा तथा अनुदान लिने अवस्थाबारेमा पनि निगरानी गर्न आवश्यक रहेको बताउनु भयो ।

जनताको पैसा कसैलाई खुसी पार्न वा व्यक्तिगत स्वार्थका लागि वितरण गर्न नहुने उहाँको भनाई छ । जनताको करबाट संकलित रकम देश र जनताको हितमा खर्च हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here