काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उहाँले आन्दोलनले ठूलो क्षति भोगेको बताउनुभएको हो । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गर्नुभयो । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उहाँले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पु¥याउने उहाँको प्रतिवद्धता छ ।






