राष्ट्रपति निर्वाचन लागि आज मतदाता नामावली प्रकाशित गर्दै निर्वाचन आयोग


१० फाल्गुन २०७९, बुधबार ०७:११ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन लागि आज बुधबार मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागिएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशित गरिनेछ ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ ।

संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद हुनुपर्नेमा चितवन क्षेत्र नं २ मा रिक्त छ भने मनाङ क्षेत्र नं १ बाट निर्वाचित टेकबहादुर गुरुङ र कैलाली क्षेत्र नं २ बाट निर्वाचित अरुणकुमार चौधरी निलम्बनमा छन् । राष्ट्रिय सभामा ५९ सांसद जना छन् ।

आयोगका अनुसार फाल्गुण १० गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ । सो दिन १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिनेछ । त्यसमा फाल्गुन ११ सम्म दाबी विरोधको उजुरी दिन सकिनेछ  ।

दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ  । उजुरीमाथिको छानबिन गरी फागुन १२ मा अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ  । १३ गते बिहान १० बजेदेखि दिउ“सो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ  ।

निर्वाचन फाल्गुण २५ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म हुने आयोगले जनाएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here