झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताउनुभएको छ ।
२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरुलाई असफल हुने कुनै छुट नभएको बताउनुभएको हो ।
उहाले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने उल्लेख गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कैयौँ कोणबाट प्रश्न उठाउने कोशिस भइरहेका भन्दै उहाले परिवर्तनको औचित्य सिद्ध गर्नका लागि दृढताका साथ अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो । वैधानिक तवरले जनयुद्धलाई स्थापीत गर्न ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको उहाले बताउनुभयो ।