गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव


१ फाल्गुन २०७९, सोमबार ०५:३२ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ ।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरुसँग आइतबार उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आगामी फागुन १ देखि विकास आयोजनाको अनुगमन गर्ने घोषणा गर्नुभएको छ । सोही सिलसिलामा उहाँ आज सुदूरपश्चिम प्रदेशको सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जाने कार्यक्रम छ ।

भ्रमणको अघिल्लो दिन उहाँले सो क्षेत्रका सांसदसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “मेरो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणासमेत गरेको थिएँ”, छलफलमा उहाँले भन्नुभयो, “गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा विकास गर्ने विषय मेरा लागि गौरवको विषय हो ।”

प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here