महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी नियुक्त


२८ माघ २०७९, शनिबार ०७:५३ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरीलाई नियुक्त गरेको छ ।

एन्फाले भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि चौधरीलाई सहायक प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो ।

भारतसँगको दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले अनन्त राज थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । उनले विगत दुई सातादेखि टोलीलाई प्रशिक्षण गराइरहेको छ ।

प्रशिक्षक थापाले ३३ सदस्यीय टोलीबाट १० खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरेका छन् ।

चोटका कारण साफ महिला च्याम्पियनसिप गुमाएकी कप्तान रेनुका नगरकोटे टोलीमा फर्कंदा साफको टोलीमा रहेकी मन्जली योन्जन भने अन्तिम छनोटमा पर्न सकिनन् ।

प्रशिक्षक थापाले नेपाल पुलिस क्लबका निर्मला विक र घिम कुमारी गुरुङलाई राष्ट्रिय टोलीमा पुनरागमनको अवसर दिएका छन् । युवा खेलाडी सविता रानामगरले पनि टोलीमा पुनरागमन गरेकी छिन् । गोलरक्षक सपना राई, डिफेन्डरहरु अन्जली वाइबा, सिर्जना चेम्जोङ र गंगा गुरुङ अन्तिम टोलीमा परेनन् ।

मन्जलीसँगै मिडफिल्डर दिपा न्यौपाने, सरस्वती ऐर र सरस्वती हमाल अन्तिम टोलीमा नरहँदा फरवार्डद्वय चन्द्रा भण्डारी र रजनी थोकर पनि बाहिरिएका छन् ।

नेपालले फेब्रुअरी १५ र १८ तारिखमा भारतको चेन्नईमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भारतविरुद्ध दुई खेल खेल्ने नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here