डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान


१७ असार २०७६, मंगलवार ११:४९ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो । दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।

“डेङ्गुको भाइरस सार्ने लामखुट्टेका लार्भा नियन्त्रण गर्न सातै नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गर्नेछ”, उनले भने ।

स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यसमेत हुने उनले बताए । डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी माधवानन्द भट्टले बताए ।

देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप बढ्नसक्ने भएकाले सबैले सचेत हुनुपर्ने उनको सुझाव छ । स्वास्थ्यकर्मी हरि नाथका अनुसार डेङ्गु भएमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुनेलगायतका लक्षण देखा पर्छन् ।

यसैगरी, केही बिरामीमा शुरुमै शरीरभरि खटिरा आउने, ज्वरो आइरहेका बेला नाक तथा गिजाबाट रक्तश्राव हुने, छालामुनि रक्तश्राव हुनेलगायतका लक्षण देखा पर्न सक्छन् । डेङ्गु ज्वरो भाइरसको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार र खोप छैन ।

बिरामीमा देखिएको लक्षणका आधारमा उपचार हुने गरेको छ । ज्वरो घटाउन सिटामोल र प्रशस्तरूपमा झोल पदार्थ पिउन बिरामीलाई लगाइने शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताए । डेङ्गुको लक्षण देखापरे तुरुन्त अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्ने उनको सुझाव छ ।

सुदूरपश्चिम प्रदेशमा यस वर्षको अहिलेसम्म कुनै पनि डेङ्गुका बिरामी फेला परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here