कर्णाली । नेपाल आयल निगमले कर्णाली प्रदेशमा ९० दिनलाई पुग्ने इन्धन भण्डारणगृह निर्माण प्रक्रिया अघि बढाएको छ ।
जग्गा प्राप्ति ऐन अनुसार नेपाल ट्रष्टको जग्गा खरिद प्रक्रिया अघि बढाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनका अनुसार सुर्खेतमा नेपाल ट्रस्टको नाममा रहेको करिब २ सय ५० रोपनी जग्गा भाडामा लिएर भण्डारणगृह बनाउन सञ्चालक समितिबाट स्वीकृति पाएको छ ।
राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालिन खर्च प्रतिवेदनमा आर्थिक वर्ष २०७७र७८ सम्ममा सातै प्रदेशमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम पदार्थको भण्डारणगृह निमार्ण गर्ने लक्ष्य राखिएको छ । सो लक्ष्यअनुरूप निगमले भण्डारण गृह निमार्ण कार्य अगाडि बढाएको हो ।
अहिले काठमाडौं, पोखरा, अमलेखगञ्ज, विराटनगर, जनकपुर, धनगढी, दिपायल र भैरहवामा ५ देखि ७ दिनको माग धान्ने गरी मात्रै पेट्रोलियम पदार्थ भण्डारण गृह रहेको छ । ९० दिनको माग धान्ने गरी कतै पनि छैन ।
कर्णाली प्रदेशमा अहिलेसम्म इन्धनको भण्डारणगृह छैन । भण्डारणगृह नभएको ठाउँबाट नै निर्माणको कार्य सुरू गर्न लागिएको पौडेलले जानकारी दिए । ‘अन्य प्रदेशमा केही दिनका लागि पुग्ने भएपनि इन्धन भण्डारण गृह छ । तर कर्णाली प्रदेशमा भन्डारण गृह नै नभएका कारण यही बाट सुरू गर्न लागिएको हो’, उनले भने ।
जग्गा प्राप्तिका लागि ट्रस्टको कार्यालयसँग छलफल हुँदै छ । जग्गा प्राप्त भएपछि कति क्षमताको भण्डारणगृह बनाउने भन्ने विषयमा छलफल हुने उनले बताए । कर्णाली प्रदेशमा इन्धनको माग कम छ । त्यहाँ हाल दैनिक १ लाख ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोलको खपत छ ।





