सके सहमतिबाट, नसके बहुमतीय प्रणालीबाट प्रदेशको नामाकरण टुंग्याइनेछः मुख्यमन्त्री कार्की


२१ माघ २०७९, शनिबार १७:२३ मा प्रकाशित

झापा । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताउनुभएको छ ।

संगठनको २५ औं स्थापना दिवसको अवसरमा झापाको विर्तामोडमा शनिवार प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिबाट नामाकरण गर्ने आफ्नो योजना बताउनुभयो ।

प्रदेश नं. १ बाहेक छ वटै प्रदेशको नामाकरण भइसकेको छ । राजनीतिक दलहरुबीच सहमति बन्न नसक्दा प्रदेश नं. १ को नामाकरण बाँकी रहेको हो ।

उहाँले प्रदेश नं. १ मा पुरानो सञ्चार प्रतिष्ठान व्युँताउने जानकारी दिनुभयो । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । त्यसबेला आफुले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसंग जोड्दै उहाँले अब कानून नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताउनुभयो ।

पत्रकार उपचार कोष सञ्चालन र पेशागत सुरक्षाका लागि प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल र पत्रकारहरुको संघ संगठनहरुसँग परामर्श गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here