राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिने


२० माघ २०७९, शुक्रबार १२:०४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो माग पूरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ ।

सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण बैठकले थप दुई दिन अर्थात शनिबारसम्म पर्खिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीसमेतको आग्रहमा दुई दिन पर्खिने निर्णय भएको बताउनु भयो ।

दुई दिनमा पनि आफूहरुको माग सम्बोधन नभए त्यसपछि बैठक बसेर आवश्यक निर्णय गर्ने उहाँको भनाइ छ ।

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको थियो ।

भेटका क्रममा उहाँले आफूलाई गृहमन्त्री बनाउन पुनः दवाव दिनु भएको थियो ।

गैरसांसदकै रुपमा आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई रविले पटकपटक दबाब दिंदै आउनु छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताउनु भएकाे छ । उहाँले प्रधानमन्त्रीको अप्ठ्यारो बुझिदिन आग्रह समेत गर्नु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here