बिर्तामोड । पराजुली समाज नेपाल, जिल्ला कार्य समिति झापाले हालै सम्पन्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उठेको सम्पूर्ण आय–व्यय विवरण एक औपचारिक कार्यक्रमका बीच आज सार्वजनिक गरेको छ ।

उक्त पुराण २०८१ चैत २१ गतेदेखी २७ गतेसम्म सञ्चालन भएको थियो । कन्काई ४ स्थित कोटीहोममा रहेको आफ्नै पराजुली भवनमा आयोजित कार्यक्रममा पराजुली समाज नेपाल, जिल्ला कार्य समिति झापाका अध्यक्ष गणेश पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका पदाधिकारी, सदस्यहरू, स्थानीय बुद्धिजीवी, धर्मप्रेमी श्रद्धालु, तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । समाजका बरिष्ठ उपाध्यक्ष शरणकुमार पराजुलीले श्रीमद्भागवत महायज्ञको आय–व्यय विवरण सार्वजनिक गर्दै महायज्ञबाट जम्मा भएको कुल आम्दानी, खर्च, र बाँकी रकमको विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार महायज्ञबाट जम्मा आम्दानी (२७ लाख ९६ हजार ७ सय ७५) रुपैयाँ भएकोमा, ९ लाख १५ हजार ६ सय ७८ रुपैँया पुराणमा खर्च भएको र बाँकी रकम रु १८ लाख १९ हजार ८७ रुपैयाँ अक्ष्यकोषमा जम्मा गरिएको बताउनुभयो । अक्ष्यकोषबाट उठेको व्याजले मन्दिर ब्यवस्थापन र भवन निमार्णमा खर्च गरिने गरिने बताइएको छ । कार्यक्रममा बोल्दै पराजुली समाज नेपालका अध्यक्षले महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वयंसेवकहरू, आयोजक समिति, र श्रद्धालुहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले , धर्म, संस्कार, र परोपकारका लागी सबै मिलेर काम गर्नुपर्ने र यस्ता कार्यक्रमहरूले समाजमा एकताको भावना बढाउने जानकारी दिनुभयो । महायज्ञमा प्रमुख कथावाचक पंडित श्री पारसमणि पराजुलीले ७ दिनसम्म सामाजिक योगदान गरेवापत पाउनुभएको पारिश्रमिक २५ हजार रुपैयाँ अक्ष्यकोषमै जम्मा हुनेगरि सहयोग गरि महान कार्य गर्नुभएको छ ।