मेचीनगर, १० जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको लैङ्गिक हिंसा विरुद्धको पुरुष सञ्जालका सदभावना दुत संजोग ठकुरीले व्यक्तिको लिङ्गको आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा भएको बताएका छन् ।
शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा विश्व बैंकको सहयोगमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत मेचीनगरमा लैङ्गिक हिंसा विरुद्धको पुरुष सञ्जालहरुका लागि क्षमता अभिवृद्वि कार्यक्रममा प्रशिक्षक समेत रहेका सदभावना दुत ठकुरीले यस्तो कुरा बताएका हुन् ।

‘प्राकृतिक बाहेक समाजले बनाएका धेरै नियमहरु लैङ्गिकतासँग जोडिएका छन्’,ठकुरीले भने–‘लैङ्गिक हिंसा सबै वर्गमा हुन्छ । महिलाले यो, पुरुषले यो काम गर्नु पर्छ भनेर समाजले बनाएको नियम हो । त्यो परिवर्तशील छ । पुरुषोत्व, नारीत्व, समानता र समता, विशाक्त र सकारात्मक कुराहरु सबै पृतिसतात्मक सोचले लैङ्गिक हिंसा बढिरहेको उनको भनाई छ ।
पुरुषले गर्ने काम महिलाले र महिलाले गर्ने काम पुरुषले पनि गर्न सक्छन् । जस्तो भात पकाउने, नेतृत्वकर्ता, पैसा कमाउने, जागिर खाने, संस्कार सिकाउने, पूजापाठ, सहनशील, मायालु, हँसिलो, घर र बच्चाको हेरविचार लगायतका काम दुवै जनाले गर्न सक्छन् ।
महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले महिला हिंसा भन्ने बुझिन्छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी पुरुषहरूले लैङ्गिक समानता, सामाजिक सशक्तीकरण नीति, लैङ्गिक हिंसा निवारण नीति बनाई कार्यान्वयन गर्ने र समुदायमा कानूनी साक्षरता अभियानहरू सञ्चालन गर्नुपर्छ ।
पीडित महिलाहरूलाई अभियानकर्ताको रूपमा परिचालन गर्न परिवारका सदस्य र आफन्तहरूलाई उत्प्रेरित गर्ने, महिलाको आर्थिक सशक्तीकरणका कार्यक्रम तथा बजेटहरू तय गर्ने, चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जस्ता कामले पनि यो अभियानमा सहयोग पु¥याउन सक्छ । यस्ता विषयमा महिला भन्दा पुरुष बढि जिम्मेवार हुन्छन् । नारीमा पुरुषोत्व र पुरुषोत्वमा नारीत्व हुन्छ । महिलाले बच्चा जन्माउने र स्तनपान तथा पुरुषले शुक्रकिट (विर्य) उत्पादन गर्ने बाहेक महिला र पुरुषमा भिन्नता नभएको ठकुरीको भनाई छ ।
महिला माथि हुने सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसा, जुनसुकै जातजाति, समुदाय र वर्गहरू, ग्रामीण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुने गरेका छन् । परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेद लगायत कारण महिलाहरू हिंसामा पर्ने क्रम रोकिएको छैन । त्यसैले महिला समानता र समताको कुरा उठ्न थालेको छ ।
जवरजस्ती करणी, बाल विवाह, बहुविवाह, मानव वेचविखन, अपहरण तथा शरिर बन्धक, गर्भपतन, अप्राकृतिक मैथुन, जातीय छुवाछूत, बोक्सीको आरोप, बाल यौन दुरुपयोग, घरेलु हिंसा, हाडनाता विवाह, अभद्र व्यवहार लगायतका घटना लैङ्गिक हिंसामा पर्दछ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलामाथि हुने विभिन्न खालका हिंसामा पुरुषहरु बढि जिम्मेवार हुने भएकोले पुरुष सञ्जाललाई सक्रिय बनाउने अभियान सुरु गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अधिकांश महिलाहरु हिंसामा परेका छन् । लैङ्गिक हिंसामा परेका महिलाहरुको संरक्षणका लागि पनि पुरुषहरु एउटा रथको दुई पाङ्ग्राको रुपमा सारथि भएर हिड्नु पर्ने उप्रेतीको बुझाई छ ।
शुक्रबार जनप्रतिनिधिसँगको छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले हिंसारहित समाज निर्माणमा जनप्रतिनिधिहरुले ड्राइभरको रुपमा काम गर्नु पर्ने बताए ।
ती सबै कार्यक्रमको प्रशिक्षकका रुपमा लैङ्गिक हिंसा सम्बन्धीकी विज्ञ विष्ट, कमला उप्रेती र सदभावना दुत ठकुरीले गरेका छन् । कार्यक्रमको सहजीकरण नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी छन् ।