काठमाडौँ । भक्तपुरमा आइतबार दिउँसो आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ ।
चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो । हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाका मोहम्मद नौशाद छन् । उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको हो । हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।
श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् । ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो ।
प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए । हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ । उनीहरु मोहम्मद रहिश र भोला कुमार थिए ।
हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन् । उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन् । सोही क्रममा नासिदसँग भेट भएको थियो । आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो ।





