काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनबीच भेटवार्ता भएको छ ।
आइतबार दिउँसो ट्रम्प र किमबीच उत्तर र दक्षिण कोरियाको सीमाको डिएमजेडमा भेट भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक उत्तर कोरियाको भूभागमा प्रवेश हो । ‘फेरि भेट्न पाउँदा खुशी लाग्यो । यो ठाउँमा भेट होला भनेर कहिले सोचेको थिइनँ’ किमले ट्रम्पसँग हात मिलाउँदै भनेका छन् ।
ट्रम्प र किम दुवै उत्तर कोरियातर्फ आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्प उत्तर कोरियामा प्रवेश गर्नु उच्च साहस र लगनको कार्य रहेको किमले प्रतिक्रिया दिएको अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् ।
दुई नेताबीच डिएमजेड क्षेत्रमा रहेको पानमुजोममा भेट भएको हो । उनीहरुको भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन पनि उपस्थित थिए । अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीचको त्रिदेशीय वार्ता यो पहिलो हो ।





