काठमाडौं उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन शुरु गर्न मेयर्स फोरमको निर्देशन


९ बैशाख २०८३, बुधबार १९:५१ मा प्रकाशित


काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहलाई नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न तथा वैशाख १५ गतेदेखि नियमित पठनपाठन शुरु गर्न निर्देशन दिएको छ । 


बुधवार ललितपुरमा बसेको फोरमको आकस्मिक बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो । उहाँले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभुत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको उल्लेख गर्दै विद्यालय स्थापना, सञ्चालन, अनुमति तथा अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारकै रहेको पनि स्पष्ट पार्नुभयो ।

वैशाख १५ देखि भर्ना खोलेर २१ गतेदेखि पठनपाठन शुरु गर्ने सरकारको निर्णयले विद्यार्थीको सिकाइ उपलब्धि र समग्र शैक्षिक वातावरणमा नकारात्मक असर पार्ने भन्दै फोरमले यस्तो निर्णय गरेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय गाउँपालिका महासंघ नेपाल, नेपाल नगरपालिका संघ तथा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाललगायत समन्वयमा उपत्यकाभरी एउटै शैक्षिक क्यालेन्डर कार्यान्वयन गरिने समेत जानकारी दिनुभयो ।

उहाँले तोकिएको समयसीमाभित्र भर्ना अभियान सम्पन्न गर्न, शैक्षिक क्यालेन्डर कडाइका साथ पालना गर्न र वैशाख मध्यदेखि अवरोधरहित कक्षाकोठा शिक्षण सुनिश्चित गर्न सबै स्थानीय तहलाई आग्रह पनि गर्नुभयो ।

उहाँले इन्धन अभावको समस्याका कारण विद्यालय सञ्चालन प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक शिक्षण विधि अपनाउन समेत आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here