बिर्तामोड । धरानको फेयर फुटबल क्लब ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा आज भएको चौथो क्वाटरफाइनल खेलमा कचनकवलको बगान युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै फेयरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको २१औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै बगानलाई १–० को अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिक्न सकेन। त्यसको चार मिनेटपछि, २५औं मिनेटमा फेयरका कृष्ण राईले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन।
दोस्रो हाफको ६२औं मिनेटमा सेवन थापा मगरले गोल गर्दै बगानलाई पुनः २–१ को अग्रता दिलाए। तर ६७औं मिनेटमा फेयरका मञ्जिल खड्काले गोल फर्काएपछि खेल २–२ को बराबरीमा पुग्यो।
निर्णायक गोल ७८औं मिनेटमा फेयरका सौरे राउतले गरे। त्यसपछि थप गोल हुन नसक्दा फेयर ३–२ ले विजयी हुँदै सेमिफाइनलमा पुग्यो। पराजित बगान भने प्रतियोगिताबाट बाहिरिएको छ।
खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) फेयरका कृष्ण राई घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
फेयरले अब वैशाख १० गते हुने दोस्रो सेमिफाइनलमा बेलबारी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत भोलि हुने पहिलो सेमिफाइनलमा आयोजक बुट्टाबारी युनाइटेड र उदयपुरको ब्रदरहुड एफसीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने आयोजकले जनाएको छ। विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक बुट्टाबारी युनाइटेडका अध्यक्ष प्रविन राईले जानकारी दिए।
प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद कपडाको ब्रान्ड ‘एनी’ रहेको छ भने बिर्तामोड नगरपालिकाले पहिलो पुरस्कार तथा कनकाई अस्पतालले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजकका संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले बताए।






