विराटनगरका टेम्पु चालक धर्ना प्रदर्शनमा


१५ असार २०७६, आईतवार १३:५५ मा प्रकाशित

विराटनगर । गएराति विराटनगरमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछि दुर्घटना गराउनेलाई कारवाहीको माग गर्दै विराटनगरका टेम्पु चालकहरु धर्ना प्रदर्शनमा उत्रिएका छन् ।

मृतक टेम्पु चालक रहेकाले दुर्घटना गराउनेलाई कारवाहीको मागगर्दै चालकहरु धर्ना प्रर्दशनमा उत्रिएका हुन । धर्ना प्रदर्शनमा उत्रिएका टेम्पु चालक र मृतकका आफ्न्तले स्थानिय बरगाछी चोकमा केहिबेर चक्का जाम गर्नुका साथै जिल्ला प्रहरी कार्यालय मोरंग छेउको सडकमा टेम्पु राखेर धर्नामा बसेका छन् ।

गएराति विराटनगरको बरगाछीमा भएको दुर्घटनामा विराटनगर–१२, बखरीका १९ बर्षिय शंकरकुमार मिश्रको मृत्यु भएको थियो । को ३५ प ५६३४ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनलाई बा २० च ७४० नम्बरको किया कम्पनीको कारले पछाडिबाट ठक्कर दिएको मृतकका आफ्न्तले बताएका छन् ।

बरगाछी उत्तरबाट दक्षिणतर्फ आउदै गरेका मिश्रलाई सोहि दिसाबाट तीब्र गतिमा आएको कारले ठक्कर दिएर कयौं मिटरसम्म घिसारेर लगेको मृतका दाजु रामकुमार मिश्रले जानकारी दिए । रातको पौने ११ बजे ठक्कर दिएर दक्षिणतर्फ फरार भएको दुर्घटना गराउने कार १ घन्टापछि विराटनगर–६ भट्टीमोड पश्चिमस्थित एक घरमा लुकाई राखेको अवस्थामा फेला परेको उनको भनाई छ । बिराटनगरकै किरण लामाको नाममा रहेको सो कार लामा आफैले चलाएको मृतक पक्षको दाबी छ । लामाले मापसे गरेर तीब्रगतिमा कार चलाएका कारण दुर्घटना भएको मृतक पक्षको दाबी छ ।

मिश्रले दुर्घटना गराउनेलाई अविलम्ब नियन्त्रणमा लिएर कडा कारवाही गर्नुपर्ने माग गरेका छन । यता सो बिषयमा प्रतिक्रिया दिदैँ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले दुर्घटना गराउने कार गएराति नै बरामद गरिसकिएको जानकारी दिदैँ कार चलाउने व्यक्तिको बिषयमा खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए । सो कार किरण लामाकै नाउमा दर्ता रहेको उनले पुष्टि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here