बिर्तामोडका व्यापारी र स्थानीयले सडकमै रोपे धान


१५ असार २०७६, आईतवार १३:१७ मा प्रकाशित

झापा । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । धान दिवसका दिन कृषकहरू हर्सोउल्लासका साथ खेतमा गएर धान रोपेर दिवस मनाउँदै आइरहेको दृश्य जताततै देख्न पाइन्छ । तर, झापा बिर्तामोडका व्यापारी र स्थानीयहरूले आइतबार धान दिवस फरक ढङ्गले मनाएका छन् ।

उनीहरू खेतमा नगएर हिलाम्मे सडकमै नाच्दै गाउँदै धान रोपेर धान दिवस मनाएका छन् । सडकको धुलो र हिलोबाट पीडित बिर्तामोडका व्यापारी र स्थानीयले निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै पानी जमेको हिलाम्मे सडकमै धान रोपेर विरोध जनाएका छन् ।

 

सडकमा धान रोपे पश्चात उनीहरुले सडक किनारमै दहि चिउरा खाएका थिए । बिर्तामोडको मुक्तिचोकदेखि सदरमुकाम भद्रपुर जोड्ने चार लेनको सडक खण्डको निर्माण कार्य १४ महिना अघि सुरु भएको थियो । निर्माण कम्पनी र सम्बन्धित निकायले निर्माण कार्यमा ढिलासुस्ती गर्दा सो सडक खण्डको अवस्था बिजोग बनेको छ ।

 

हिउँदमा धुलो पीडित बनेका यहाँका जनता मनसुन सुरु भएपछि थप मारमा परेको स्थानीय व्यापारी सन्तोष अग्रवालले जानकारी दिए ।

बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुरको लेखनाथ चोकसम्म जोडने सडकको दुरी १४ किलोमिटर पर्छ । १४ किलोमिटर सडक अन्तरगत पहिलो चरणको निर्माण कार्य जम्मा चार किलोमिटर हो । स्मार्ट सिटीको अवधारणा अनुसार भद्रपुर रोडमा निर्माण कार्य सुरु भएको १४ महिना बितिसक्यो ।

निर्माण कम्पनीले गरेको सम्झौता अनुसार सडक निर्माण कार्य २०७६ असोजभित्र सकिनु पर्ने हुन्छ । तर, अहिलेसम्म सडक छेऊछाऊको दायाँबायाँ दुवै तर्फ पक्की नाला बनाउने कार्य समेत पूरा भएको छैन । दमकस्थित सडक डिभिजन कार्यालय झापाले पहिलो चरणको ठेक्का स्वीकृत अनुसार बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड १८ महिनाभित्र सक्नुपर्ने जानकारी दिए ।

आशिष प्रेरा जेभीसँग गत वर्ष २४ असारमा ठेक्का सम्झौता गरेको बताइएको छ । २७ करोड लागतमा निर्माणधिन अवस्थामा रहेको सडकमा निर्माण कम्पनीले दुई दर्जन मजदुर पनि खटाएको देखिँदैन र त्यसमा पनि उनीहरू नियमित काममा नआएको स्थानीयवासी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here