काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको बताएका छन् ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आइतबार आयोजना गरेको गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा नेता प्रकाशमान सिंहले पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी हुनु नै मुलुकको दुर्दशा सुरू भएको बताएका हुन् । ‘देश र जनताको हित नै सबभन्दा महत्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिंहहरू जस्ता राजनेताहरूको जीवनीलाई पन्छाएर पदकै लागि जेसुकै गर्ने प्रचलन हाबी भएको छ’, उनले भने, ‘यसले देशको दुर्दशा सुरू भएको छ ।’
कांग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण पार्टी विधानको कारण रहेको समेत नेता सिंहले बताए । काम नगर्नेहरूलाई विधानअनुसारको काम गर्न भन्नु पनि विरोध गर्यो भनेर भन्नेहरू कै कारण पार्टी कमजोर बनेको उनले भनाइ थियो । अब राजनीतिक सहमतिभन्दा पनि पार्टी विधान र नियमावलीको परिधिभित्र बसेर गर्नु पर्नेमा मन्त्री सिंहको जोड थियो ।





