ठूला ओहोदामा बसेका मान्छेले गरेको अपराध पनि कानुनको दायरामा ल्याउनु पर्छः अनुराधा कोइराला


११ मंसिर २०७९, आईतवार ०८:२० मा प्रकाशित

झापा । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कानुन र सजाय सानालाई मात्र लागू नहुने बताउनुभएको छ ।

कोइरालाले ठूला ओहोदामा बसेका मानिसहरूले गरेको अपराधमा चुपचाप बसिदिनुले बलात्कार जस्ता अपराधका घटनामा बृद्धि भइरहने बताउनुभयो । शनिबार झापाको बुद्धशान्तिमा स्थापना भएको बर्खा स्मृति प्रतिष्ठानको उद्घाटन गर्दै माइती नेपालकी संस्थापक अध्यक्ष कोइरालाले अपराध गर्ने जोसुकैले सजाय पाउनुपर्नेमा जोड दिनुभयो ।

गत साल अमेरिकामा जेब्राक्रसमा बाटो काट्ने क्रममा एउटा गाडीको ठक्करबाट बुद्धशान्तिकी बर्खा खड्का प्रसाईंको निधन भएको थियो । उहाँको स्मृतिमा उहाँका श्रीमान् मदन प्रसाईंले बर्खा स्मृति प्रतिष्ठानको स्थापना गर्नुभएको हो ।

असहाय बालबालिकाको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गर्ने उद्धेश्य राखेर प्रसाईंले स्थापना गर्नुभएको उक्त प्रतिष्ठानको सञ्चालनका लागि ५० लाख रुपैयाँ अक्षय कोषमा प्रसाईंले राखिदिनु भएको छ । अन्य काम सञ्चालनका लागि उहाँले २० लाख रुपैयाँ छुट्याउनु भएको छ ।

प्रसाईंको उक्त कदमको प्रशंसा गर्दै कार्यक्रममा विशिष्ट अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले ठूलो मन हुने मान्छेले मात्र यस्तो काम गर्नसक्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय अप्रवासी संगठन आइओएममा कार्यरत बर्खा कामकै सिल्सिलामा अमेरिका जानु भएको थियो । त्यहीँ उहाँको गाडीको ठक्करबाट निधन भएको थियो । तर आफू अझै पनि न्यायको पर्खाईमा रहेको प्रसाईंले बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाले प्रतिष्ठानलाई सहयोग गर्ने बचन दिनुभयो । बुद्ध आदर्श मावि सञ्चालक समितिका अध्यक्ष मनोरथ तिवारीले प्रतिष्ठानको काममा सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सचिव मदन मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here