काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताउनु भयो ।
उहाँले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गर्नुभयो । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताउनु भयो ।