इलाम । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको छ ।
नगरपालिकाले बनाएको चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ अनुसार हरियोपत्तीको मूल्य प्रतिकिलो ४० रुपैयाँ नघटाइ किसानलाई उपलब्ध गराउनु पर्नेछ । चिया उद्योगीका अनुसार गुणस्तरयुक्त चिया पत्तीको मूल्य प्रति केजी ४० रुपैयाँ दिन सकिए पनि त्यो भन्दा कम गुणस्तरको चियापत्तीलाई उक्त मूल्य दिन चिया उद्योगले नसकेको हो ।
नगरपालिकाले एक सुइरो दुई पातको चियापत्तीको मूल्य न्यूनतम प्रतिकेजी ४० रुपैयाँ तोकेको छ । उक्त मापदण्डको पत्तीका लागि नगरपालिकाले तोकेको मूल्य किसानलाई तिर्न उद्योगी तयार छन् ।
चिया उद्योगीले चियापत्तीको गुणस्तर पहिचानको संयन्त्र बनाउन नगरपालिकालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले उद्योग बन्द गरेर आन्दोलनमा उत्रनु परेको बताएका छन्।





