लेदो जमेर अवरुद्ध पृथ्वी राजमार्ग सुचारु


१२ असार २०७६, बिहीबार १०:१२ मा प्रकाशित

धादिङ । पहाडबाट आएको लेदो सडकमा जमेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गमा सूचारु भएको छ ।

सडकमा जमेको लेदो हटाएपछि यातायात सुचारु भएको धादिङ प्रहरीले जनाएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको थियो । आठ वटा एक्जाभेटर प्रयोग गरेर दुवैतर्फि सञ्चालनमा ल्याएको भएपनि लेदो हटाउने कार्य जारी रहेको छ ।

प्रहरीले बिहान ६ बजेबाट साढे दुई घण्टा मात्रै सडक अवरुद्ध भएको जनाएको छ । स्थानीय बासिन्दाहरुले भने राति दुई बजेबाटै सडकमा अवरुद्ध भएको जनाएका छन् । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग बिहान २ बजेदेखि अवरुद्ध भएको बैरेनीबजारका व्यवसायी नरेश खतिवडाले बताए ।

सडक छेउमा बालुवा धुने मेसिन प्रयोगले सडक माथिबाट आएको लेदो राजमार्गमा जमेकाले यसलाई व्यवस्थापन गर्नुपर्ने खतिवडाले बताए । सडक अवरुद्ध भएपछि १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here