उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यस बर्षको छठ पर्व


१४ कार्तिक २०७९, सोमबार ०७:२३ मा प्रकाशित

झापा । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै याे वर्षको छठ पर्व सकिएको छ ।

आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने लाेक आस्थाकाे पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।

छठको मूख्य दिन हिजो अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएका व्रतालु तथा भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएर पर्व समापन गरेका हुन् ।

उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाडाैंकाे गुह्येश्वरी, गहनापाेखरी, कमलपोखरी, वाग्मती लगायत तराई मधेसका पोखरी, नदी  र तलाउमा व्रतालुहरुको घुइँचो लागेको थियो । उनीहरु रातभर जाग्राम बसेका थिए । नदी तथा तलाउलाई दुलहीझैं सिंगारेर झकिझकाउ पारिएकाे थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे कमलपाेखरी र गुहेश्वरी पुगेर छठीमाताकाे पूजा आराधना गर्दै अस्ताउँदाे सूर्यलाई अर्घ्य दिनुभएकाे थियाे ।प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीमा रहेकाे वाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा, आराधना गर्नुभएको छ ।

छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर  व्रतालुले  अलिकति प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

छठमा विशेष गरी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरूमा उल्लेख छ । द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख छ । त्यसबेला पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको लोककथन बमोजिम सोही समयदेखि छठ मनाउन थालिएकाे पाइन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

सूर्यकाे वैज्ञानिक महत्व पनि उत्तिकै छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यको किरणबाट कैयौं रोगको उपचार समेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।  छठलाई कठिन व्रत र उपवासको पर्व समेत मानिन्छ ।

०४६ साल अघि तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले देशभर मनाउन थालिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here