प्रत्यक्ष निर्वाचनका लागि दुई करोड ३६ लाख मतपत्र छपाइ सकिएको निर्वाचन आयोगको भनाइ


१२ कार्तिक २०७९, शनिबार १८:५० मा प्रकाशित

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ।

प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र छन्। उक्त निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुँदैछ।

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन्। आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ १ सय १० र प्रदेशसभाको समानुपातिकतर्फ २ सय २० सदस्य निर्वाचित हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here