राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेले आशिर्वाद दिएको होः एमाले अध्यक्ष ओली


११ कार्तिक २०७९, शुक्रबार १९:१९ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेले आशिर्वाद दिएको बताउनुभएको छ ।

झापाको भद्रपुरमा शुक्रबार आयोजित झापाको क्षेत्र नं ३ स्तरीय एमाले र राप्रपाको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले एमालेको आशिर्वाद पाएर यसपाली राप्रपा राष्ट्रिय पार्टी हुने दाबी गर्नुभयो । उहाँले यसपाली पनि राप्रपालाई एमालेले आयुष्मान भवः भनेको बताउनुभयो ।

झापाको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

त्यस्को सट्टा झापाको क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीलाई राप्रपाले समर्थन गरेको छ । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनको नाम सुन्दा पनि आफूलाई दिक्क लाग्ने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा संगै उपस्थित रहनुभएका राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले पुनः पाँच बर्ष अघिको इतिहास दोहोर्याउन मतदातालाई आग्रह गर्नुभयो ।

झापामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने निर्णयपछि ओली र लिङ्देनले दोस्रो पटक शुक्रबार भद्रपुरमा संयुक्त कार्यक्रमलाई सम्बोधन गरेका हुन् । केही दिन अघि मेचीनगरमा पनि दुई नेताले एउटै मञ्चबाट सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here