झापा । साहित्य चौतारी झापाले नेपालीको मौलिक परम्परा जोगाइराख्न दक्षिणारहित सामूहिक सडक देउसी आयोजना गरेको छ ।
नेपाली मौलिक भेषभूषा र बाजागाजासहित साहित्य चौतारीले बिर्तामोडमा बुधबार सडक देउसी खेलेको हो । साहित्य, कला, संगीत र संस्कृतिको संरक्षणमा जुटेको साहित्य चौतारीले २०५८ सालदेखि हरेक वर्ष दक्षिणारहित सामूहिक सडक देउसी खेल्दै आएको छ ।
दक्षिणाका लागि देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण गर्न सामूहिक रुपमा सडक देउसी आयोजना गरिएको साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठले बताउनु भयो ।
परम्परागत शैलीमा देउसी भैलो खेल्ने चलन हराउँदै गएको अवस्थामा साहित्य चौतारीले लेखक तथा पत्रकार, कलाकार र सर्जकलाई जम्मा पारेर सडक देउसी खेलेको हो ।
कोरोना महामारीपछि गत सालदेखि साहित्य चौतारीले सामूहिक देउसी आयोजना गरेको हो । यसपटक पनि झापाका विभिन्न संघसंस्था देउसीमा सहभागी भएका छन् ।